logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किन गर्छन् मानिसले आत्महत्या : आत्महत्या गर्ने व्यक्ति कसरी चिन्ने…


अंकुरण खबर
3.627K
Shares

काठमाडौं – आज विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या रोकथाम विश्वकै लागि समस्या बनिरहेको बेला नेपालमा भने यो समस्या अझ भयानक देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने विभिन्न अध्ययनले देखाउछ ।

विगत ४५ वर्षमा विश्वमा आत्महत्याको दर ६० प्रतिशतले बृद्धि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ । ती मध्ये १५ देखि ४४ वर्ष उमेर समुहमा मृत्युको प्रमुख कारणमा आत्महत्या पर्ने गरेको छ ।  विश्वमा हुने आत्महत्यामध्ये झण्डै ३९ प्रतिशत दक्षिण पूर्वी एसियामा हुने गरेको पाइन्छ ।

नेपालमा आत्महत्याको अबस्था :

केही वर्ष यता विश्वभर नै आत्महत्याका घटना बढि रहेका छन् । नेपालमा पनि आत्महत्याको घटना दिप्रतिदिन बढेको छ । नेपाल आत्महत्या गर्ने देशमध्ये ७ औ स्थान पर्छ भने महिलाले आत्महत्या गर्ने देशमध्ये तेस्रो स्थान पर्छ । नेपालमा आत्महत्याको अवस्था हेर्दा प्रत्येक बर्ष सरदर ४ हजार ६७४ व्यक्तिले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंमा प्रत्येक हप्ता कम्तिमा १२ वटा आत्महत्यासम्बन्धी घटना दर्ता हुने गरेका छन्, जसमा अधिकांश महिला छन् ।

आत्महत्या गर्ने प्रमुख कारण :

आत्महत्या गर्ने कारण व्यक्ति,समुदाय र राष्ट्रपिछे नै फरक होला । तर पनि उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिन्छ । आत्महत्या गर्ने ९० प्रतिशतमा मानसिक रोग भएको तथ्य अनुसन्धानले देखाएको छ । मानसिक रोगमा सबैभन्दा प्रमुख कारण डिप्रेसन भएको बताउछन् नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदिप पाण्डे

यस्ता व्यक्तिले आत्महत्या गर्ने संभावना बढी

हुन त आत्महत्या एक छिनको आवेगले पनि हुन सक्छ । तर धेरै दिक्दारी लाग्ने, जीवनप्रति रुचि राख्ने , भविश्यप्रति कुनै आशा नदेख्ने आफूलाई धेरै कमजोर वा एकदमै दयनीय देख्ने मानिसमा यो समस्या आउने संभावना बढी रहन्छ । त्यस्तै मद्यपान ,लागूऔषधको प्रयोग बढी गर्ने, दीर्घ रोगले सताएर धेरै दुख भोगेका, घरयासी झैझगडा बढी हुने, समाजमा अनैतिक काम गरेका मानिसहरुले पनि आत्महत्या बढी गर्ने संभावना रहेको पाइन्छ ।

थुप्रै मानिसहरुको आत्महत्याको कारण दुख खप्न नसकेर वा आफ्नो मनोकांक्षा बिपरीत समस्या आएर हुने गरेको पाइन्छ । नेपालमा भने आत्महत्या मानसिक रोग,गरिबी, प्रेममा धोका,अशिक्षा,सामाजिक कुप्रथा ,बन्देज आदिले हुने गरेको पाइन्छ ।

आत्महत्यासंग जोडिएको डरलाग्दो कुरा त के छ भने एक पटक आत्महत्या प्रयास गरेका व्यक्ति बाच्न सफल भएपनि ,सामाजिक प्रतिष्ठा या अन्य कुनै पनि कारणले पुनः आत्महत्या गर्ने संभावना प्रवल छ । दैनिक जटिल समस्या बन्दै गएको आत्महत्या समस्या रोक्न स्वयं व्यक्ति, परिवार, समाज, राष्ट्र सबै सचेत भए यो समस्या घट्ने थियो की ?