काठमाडौं – मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज कारोबार शुरु भएपछि भारी मात्रामा गिरावट आएको हो । मध्यन्नतिरबाट सुधार हुँदै गए पनि अन्ततः कारोबार बन्द हुने बेलामा नेप्से परिसूचक २.२४ अंकले घटेर ११६६.६७ बिन्दूमा झरेको छ ।
कुल १७२ कम्पनीको करिब १० लाख कित्ता शेयर साढे २३ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । कारोबार रकम अघिल्ला दिनको तुलनामा न्यून हो ।
मंगलबार समग्र परिसूचकमा गिरावट आए पनि हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब सात प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स र अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी कुमारी बैंकको शेयर किनबेच भएको छ । यस कम्पनीको सवा करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।