काठमाडौं – महोत्तरीको एकडारा गाउँपालिकामा बुधबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुरको मृत्यु भएको हो । ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको देखेर छोराछोरीले बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।