काठमाडौं – काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापाविरुद्ध आपराधिक लाभ ‘एक्सटर्सन’ र संगठित अपराधको अभियोग लगाएको छ ।
काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार नरेशसहित ९ जनाविरुद्ध उक्त अभियोग लगाइएको हो । नेपाल निर्माण व्यवशायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका समिरमानसिंह बस्नेतविरुद्ध पनि अभियोग लगाइएको छ ।
समिरमानले जेलबाटै फिरौती उठाएको विषयमा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गृहमन्त्री थापाका भाईलाई पनि पक्राउ गरेको थियो । अभियोग लगाइएका मध्ये एक जनामात्र फरार छन् । केन्द्रीय कारागारमा कार्यरत एक प्रहरी जवानलाई पनि पक्राउ गरि मुद्धा चलाइएको छ।