काठमाडौं – लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारीको बाटो खुलेको छ । नेपाल र मलेसियाका अधिकारीबीच मलेसिया रोजगार खुल्ला गर्ने सहमति भएको हो । तीन दिन लामो बैठकपछि मलेसिया नेपाली कामदार लैजान सकारात्मक भएको हो ।
दुई देश बिचको प्राविधिक कमिटिको बैठक मलेसिया स्थित पुत्राजयमा भएको छलफलपछि दश बुँदे सहमति जुटेको हो । नयाँ कामदार लाने तयारी बुझ्न मलेसियाको एक विशेष टोली नोभेम्बरको पहिलो साता काठमाडौं आउने भएको छ ।
टोलीले स्वास्थ्य परीक्षणका लागि स्वीकृत भएका २२ संस्थानको अनुगमन गरेपछि मात्र बायोम्याटिक सफ्टवेयर जडान हुनेछ । त्यसपछि नयाँ कामदार मलेसिया जाने प्रक्रिया सुरु हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार तत्कालका लागि भने पुरानै प्रक्रियाबाट आइतबारबाटै नेपाली कामदार मलेसिया जान पाउनेछन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७५ जेठ ३ देखि मलेसियामा नेपाली युवा पठाउन रोक लगाएको थियो ।