प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले हरेक क्षेत्रमा रहेको विकृति हटाउन महिलाको योगदान विशिष्ट रहेको बताएका छन् ।
सञ्चारिका समूहको ‘२३ औँ वार्षिक साधारणसभामा सभामुख महराले यस्तो बताएका हुन् ।
‘महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन सक्छन्’ सभामुख महराले भने, ‘ पत्रकारिताको सुदृढिकरणमा पत्रकार महिलाको भूमिका महत्वपूर्ण छ । पत्रकारितालाई स्वस्थ, व्यवस्थित र मर्यादित बनाउन पनि पत्रकार महिलाले योगदान दिनुपर्छ ।’
सञ्चारिका समूहका पहिलो अध्यक्ष तथा सीड कमिटीका उपाध्यक्ष बन्दना राणाले पत्रकार महिलाको लागि अहिले निकै अवसर भएको र यसमा धेरै काम गर्न सकिने बताइन् ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघले नियमित रुपमा मिडियामैत्री कानुन निर्माणका लागि सरकारलाई दवाव दिइरहेको बताए ।
सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले संस्थाको प्रदेश र जिल्लास्तरमा संगठनहरु विस्तार भइरहेको जानकारी दिइन् । उनले जिल्लामा पछिल्लो समयमा पत्रकार महिलाहरुको संख्या बढिरहेको भन्दै खुसी व्यक्त गरिन् ।