धेरै समय पछि मलेसियामा रोजगारी खुला भएको छ । बिहिबार वसेको नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो ।
अब नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् । कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।
दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए । उनी अहिले सोही सहमतिकै लागि मलेसियामा छन् ।
मलेसिया रोजगार आजैबाट खुला भएको छ । स्वास्थ्य परीक्षणका लागि बायो मेडिकल भएका सबै संस्थाले पाउँनेछन् । अहिले बायो मेडिकल ३६ वटा सँस्थामा छन् । यी सँस्थाहरुमा मलेसियाले अनुगमन गर्नेछ । आगामी नोभेम्बरसम्म थप नयाँ संस्थालाई पनि स्वीकृति दिने छ ।
अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् । नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा सो मागपत्र अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।नेपाल सरकारले घरेलु कामदार पठाउँदा सम्बन्धित देशमा घरेलु कामदारसम्बन्धी छुट्टै कानुन हुनुपर्ने भनेकाले मलेसियामा सोको लागि कानुन बन्ने प्रक्रियामा रहेको भन्दै हाललाई नेपालबाट घरेलु कामदार जान नपाउँने व्यवस्था गरिएको छु ।
मलेसिया जाने कामदार माथि ठगी भएको भन्दै नेपाल सरकारले २०७५ जेठ १२ गते श्रम मन्त्रालयले मलेसिया श्रम स्विकृतिमा रोक लगाएको थियो ।