डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् ।
अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् ।
मन्त्रालयले सशक्त अनुगमन गर्न नसक्दा कार्यान्वयनमा थप चुनौती देखिँदै आएको छ । सरकारले उपचार निःशुल्क भन्दै आए पनि बिरामीले चर्को शुल्क तिर्नु परिरहेको गुनासो छ । डेंगु पहिचानका लागि रगत परीक्षण गर्न अस्पतालले चर्को शुल्क लिएको बिरामीको गुनासो छ ।
हालसम्म ५६ जिल्लाका ५ हजार ९७ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे ।
संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने संकेत समेत गरे । पूर्व एमाले निकट कार्यकर्तालाई लक्षित गर्दै अध्यक्ष दाहालले जननेता मदनभण्डारी आफ्नो सहकर्मी राजनीतिकज्ञ भएको र विगतमा पूर्वएमाले शीर्ष नेतृत्वलाई आफै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूमाथि विश्वास गर्न आग्रह गरे ।
‘जननेता मदन भण्डारी एउटा कम्युनिष्ट पार्टीको महासचिव हुनुहुन्थ्यो, म अर्को पार्टीको,’ अध्यक्ष दाहालले भने,‘ उमेर म उहाँजति नभएपनि हाम्रो दर्जा उस्तै थियो । त्यहाँदेखि अहिलेसम्म मेरा क्रियाकलाप र गतिविधि नियाल्न म यहाँहरुलाई आग्रह गर्दछु ।’ यो समाचार नागरिक दैनिकमा भीम चापागाई र युवराज विवशले लेखेका छन् ।
थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको हो ।
२५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा चेंडेका कृष्ण कृष्ण नानीचा श्रेष्ठले प्राण दिएका थिए । उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता दिन भने सकेनन् ।
पुनः ०५७ र ०६३ मा गरी दश वर्षमा तीन पटक जिब्रो छेडाएर उनले थिमिबासीलाई सांस्कृतिक सभ्याताको परिचय दिए ।
कृष्ण नानीचा श्रेष्ठपछि एघारवर्षदेखि रोकिएको जिब्रो छेड्ने जात्रालाई ०७४ मा मध्यपुर थिमि–४, बालकुमारीका वीरेन्द्रभक्त गजुले फेरि सुरु गरे । अर्को साल उनको बुबाको निधन भयो ।
जिब्रो छेडाउन सकेनन् । गत वर्ष (२०७५) मा मध्यपुर थिमी–५ चोंडेका ४० वर्षीया बाल बालराम नानीले जिब्रो छेडाएर संस्कृति बचाए । यस वर्ष जिब्रो छेडाउन कोही तयार भएन । यो समाचार कान्तिपुर दैनिकमा छ ।
काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भएपनि दुवै रेलको अहिलेसम्म विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) हुन सकेको छैन ।
यसै यता आएका चिनियाँ विदेशमन्त्री वाङसँग काठमाडौँ–केरुङ रेलबारे छलफल हुने अपेक्षा गरिएको थियो । तर त्यसबारे छलफल भएको वा नभएको सार्वजनिक गरिएको छैन । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भने काठमाडौं–रक्सौल रेलबारे कुरा उठेको थियो ।
यसबारे छलफल राम्रै भएको विभागका महानिर्देशक बालाराम मिश्र बताउँछन् । उनका अनुसार काठमाडौँ–रक्सौल रेलबारे सहमति समेत भएको थियो ।
वाङ यीको नेपाल भ्रमणका अवसरमा काठमाडौं–केरुङ रेलमार्गका विषयमा छलफल हुने विश्वास गरिएको थियो तर रेल विभाग र सम्बन्धित मन्त्रालयलाई बोलाइएन । यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।
सडक डिभिजन कार्यालय काठमाडौँ र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने ।
खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे ।
एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो । खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन् ।
ढलको मंगाल पनि खुलै छाडिएको छ । चाबहिलका प्रकाश ढकालका अनुसार चाबहिल–चुच्चेपाटी सडक काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन कार्यालय काठमाडौँ, उपत्यका सडक विस्तार आयोजना, केयुकेलगायत निकायले ढल र खानेपानी पाइप राख्ने नाममा बारम्बार खन्दै र पुर्दै आएको छ । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक पारित हुन सकेन ।
संघीय संसदको राज्य व्यवस्था समितिमा जारी छलफलका क्रममा कांग्रेकासका सांसदहरुले विदेशी ज्वाइँ र विदेशी बुहारीले नेपाली नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग उठाएपछि सहमति हुन नसकेको हो । यो समाचार नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।
खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ ।
आरुघाट गाउँपालिका–९ । १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपाली सुविधा उपलब्ध गराएको छ ।
प्रदेश सरकारबाट निर्मित परियोजनामध्ये गोरखामा पहिलो पटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो । यो समाचार कान्तिपुर दैनिकमा हरिराम उप्रेतीले लेखेका छन् ।
पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् ।
भारतको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा. निहार नायकले नेपालको समदूरीमा आधारित नीति सबैभन्दा नजिकको छिमेकी भारतको पक्षमा नरहेको बताएका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा चारपटक नेपाल आएको उल्लेख गर्दै उनले तर चीनको राष्ट्रपतिको आगामी सम्भावित भ्रमण मात्र नौ घण्टाको हुने पनि बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।