काठमाडौं – मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको उडिसा र पश्चिम बंगाल आसपासमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद्ले बताए। मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाण, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालको खाडीलाई बुझनुपर्ने हुन्छ ।
आज देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघगर्जन चट्ट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
आज र भोलि देशभरि नै बदली भई वर्षा हुनेछ । देशभरि सामान्यदेखि आंशिक बदली रही केही स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने छ । बिहीबार रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पश्चिमका धेरैजसो स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन तथा चट्ट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा १ सय मिलिमिटर वर्षा भएको छ । त्यस्तै, पोखरामा ७६.० मिलिमिटर, दाङमा १५.० मिलिमिटर, सिमरामा ५.० मिलिमिटर, नेपालगन्जमा ३७.० मिलिमिटर र विराटनगरमा १५.० मिलिमिटर वर्षा भएको छ ।