काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सेयरबजारमा लगानी गर्ने अहिले उचित अवसर भएको बताएका छन् ।
कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले नागरिक लगानी कोष, सामुहिक लगानी योजना लगायतका संस्थाहरुका लागि सेयरबजारमा लगानी गर्न अहिले अवसर भएको भन्दै दोस्रो बजारमा लगानी बढाउँन निर्देशन पनि दिए ।
कोषहरुबाट कुल जीडीपीको करिब २० प्रतिशत बराबरको बचत परिचालन हुँदै आएकाले यस्ता संस्थाहरुको गतिबिधिले बिगतमा पुंजी र मुद्रा बजारमा प्रभाव पार्दै आएको अर्थमन्त्री खतिवडाले बताए । उनले बिगतमा वित्तीय बजारमा महँगो ब्याज आउने गरि निक्षेप राख्ने परिपाटी भएको भन्दै अहिले केहि सन्तुलित भएपनि थप सन्तुलित तरिकाले अघि बढ्नलाई कर्मचारी संचय कोषलाई निर्देशन दिए ।
कार्यक्रममा कर्मचारी सञ्चय कोषले योगदानमा आधारित पेन्सन योजनाको औपचारिक शुभारम्भ गरेको छ ।