काठमाडौं -करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ ।
जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ मा प्रियङ्का वस्त्रालय सञ्चालन गर्दै आएका स्थानीय राजेश गुप्ता र सोही पसलमा काम गर्दै आएका उनका कर्मचारी जलेश्वर नपा–८ बस्ने मिन्टु ठाकुर रहेको प्रहरीले जनाएको छ ।
गत साउन १६ गते गुप्ताकै पसलमा काम गर्ने अर्का कर्मचारी जलेश्वर नपा–६ बस्ने २९ वर्षीय सरोजकुमार साहको हत्या गरी स्थानीय रातुखोलामा फालिदिएको अवस्थामा शव बरामद भएकामा सरोजको हत्याको आरोपमा पसल सञ्चालक गुप्ता र कर्मचारी ठाकुरलाई मङ्गलबार साँझ महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको हो ।
प्रहरीले पसल सञ्चालक गुप्ता र उनका कर्मचारी ठाकुरलाई भदौ ३ गते नियन्त्रणमा लिएको थियो । मृतक कर्मचारी साहका परिवारजनले पसल सञ्चालक गुप्ता र उनका कर्मचारी ठाकुरले मिलेर सरोजको हत्या गरेको भन्दै दुवैमाथि किटानी जाहेरी दिएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर तीनपटकसम्म अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य पूरा गरी महोत्तरी जिल्ला अदालतमा पेश गरेपछि अदालतले दुवैलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको हो ।