काठमाडौं – काठमाडौंको कपनमा एक महिलाको हत्या गरेको अवस्थामा शव फेला परेको छ । कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हात–मुख बाँधेर हत्या गरेको अवस्थामा बुधबार एक अधवैंसे महिलाको शव फेला परेको हो ।
कपिलवस्तुकी ४० वर्षीया कमला केसीको शव उनी सुत्ने कोठामै फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । प्रहरीका अनुसार उनी चिया पसल चलाउँथिन्, त्यहा मदिरा व्यापार पनि गर्थिन् । पसलसँगै जोडिएको कोठाको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
कोठामा श्रीमान् नभएको बेला उनलाई कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
हत्या कसले किन गर्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान कार्य जारी राखेको छ ।