काठमाडौं – विपक्षी दलका सांसदहरुले भू–माफियालाई उकास्ने र सार्वजनिक जग्गा मास्ने गरि भूमि सम्बन्धी आठौ संशोधन विधेयक अघि सारेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विधेयकमाथिको छलफलमा प्रतिपक्षी सांसदहरुले सुकुम्बासीको नाममा जग्गा बाड्ने मनसायले सरकारले विधेयक ल्याएको आरोप लगाएका हुन् । विधेयकमा पर्ती, ऐलानी र गौचरणका जग्गा मासी राज्यले नियन्त्रणमा लिने ब्यवस्था गरिएको आरोप कांग्रेस र मधेस केन्द्रित दलका सांसदहरुले लगाए ।
सांसदले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमिहिन सुकुम्बासीको समस्या सम्बोधन गर्ने गरी विधेयक ल्याईएको स्पष्ट पारिन् ।
बैठकले भूमि सम्बन्धी आठौ संशोधन विधेयक २०७५ बहुमतले स्वीकृत गरेको छ । साथै बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २ हजार ७५ र राहदानी विधेयक २ हजार ७५ पनि स्वीकृत गरेको छ ।