logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आजको छापामा प्रकाशित मूख्य खबरहरु


अंकुरण खबर
3.081K
Shares

ओलीले रविन्द्र अधिकारीको मृत्युपछि पर्यटन मन्त्रालयबाट किन बाँडे २६ करोड

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् ।

तत्कालीन मन्त्री रवीन्द्र अधिकारी अधिकारीको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यस मन्त्रालय सम्हालेका थिए । मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन ।

गत साउन १५ मा योगेश भट्टराई मन्त्री भएसँगै मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले छाडेका थिए ।

प्रधानमन्त्री ओलीको अग्रसरतमा ५२ संस्था र प्रतिष्ठानलाई २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको हो । विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको छ । काठमाडौं उपत्यकाका २९, झापाका २, बागलुङका ३, कास्कीका २, मोरङका १, कञ्चनपुरका २ लगायतका प्रतिष्ठानलाई यसरी रकम बाँडिएको थियो । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।

प्रहरी कागजात अख्तियारको नियन्त्रणमा, के–केमा छानबिन ?

लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो ।

प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकोले आफैँ गएर नियन्त्रणमा लिइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्  ।

बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन

दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ ।

दसैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो ।

दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए ।

दसैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिलो दिन सर्वसाधारण बिहानैदेखि लाइनमा बस्न आएका हुन् । आइतबार टिकट काउन्टरमा एकैचोटि सर्वसाधारण ओइरिएपछि एक घण्टासम्म लाइनमा बस्नुपरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको बताए । यो समाचार आजको राजधानी दैनिकमा  टेनिस रोकाले लेखेका छन् ।

स्वास्थ्य बिमा आफैँ बिचरोः अर्बौ रुपैयाँ बर्सेनि फ्रिज

स्वास्थ्यमा सर्वव्यापी पहुँच विषयक संयुक्त राष्ट्रसंघीय महासभाको दुईदिने बैठक आइतबार न्युयोर्कमा सुरु भयो । बैठकमा नेपालका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपन्द्र यादव सहभागी छन् ।

तर नेपालमा स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउने स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन अवस्था भने अत्यन्त कमजोर रहेको पाइएको छ ।

सरकारले सन् २०२० सम्म ५० प्रतिशत जनसंख्यालाई स्वास्थ्य सेवा बिमा कार्यक्रममा समेट्ने भने पनि पूर्ण सफलता हासिल नहुने देखिएको छ ।

विश्वव्यापी स्वास्थ्य सुरक्षा कार्यक्रमको अभिन्न अंगका रुपमा मानिएको यो कार्यक्रम प्रभावकारी कार्यान्वयन, सेवा विस्तारमा कमी र विमित बर्सेनि गर्नुपर्ने नवीकरण गर्न अनिच्छुक देखिएपछि समस्यामा परेको छ । यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

चीनमा पढ्दै नेकपाका ‘मेयरहरु’

नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् ।

‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन् ।

युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्राध्यापकले तिनलाई पढाउने गरेका छन् । कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता : १६ सय सिसी क्यामेरा जडान

नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ।

एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ।

प्रहरीले जनशक्तिसँगै उपत्यकाभित्र हुने गतिविधिको निगरानी गर्न सिसी क्यामेराको संख्या थप गरेको हो। समुदाय–साझेदारी कार्यक्रम अघि बढाएसँगै उपत्यकामा स्थानीय सरकारले सिसी क्यामेरा जडानलाई तीव्रता दिएको हो।

प्रहरीको आग्रहमा महानगरपालिका र नगरपालिकाहरूले सिसी क्यामेरा जडान गर्नका लागि आर्थिक सहयोग गर्ने क्रमलाई प्राथमिता दिएका छन्। उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य–मुख्य चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ।

जडान भएको सिसी क्यामेराको निगरानी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले र विभिन्न प्रहरी कार्यालयले निगरानी गर्दै आएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो ।

मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिए ।

सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको जानकारी उनले दिए। उनका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी खण्ड विस्तार गरिने छ ।

सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।