काठमाडौं – बहुप्रतीक्षित नागढुंगा नौबिसे सुरुङमार्ग निर्माणका लागि सरकारले आज जापानी निर्माण कम्पनीसँग सम्झौता गर्दै छ । जापानको निर्माण कम्पनी हाज्मा आन्द्रो जेभीले सो सुरुङ मार्ग निर्माणको ठेक्का पाएको छ । जापान सरकारकै सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको हो ।
जापानले यस परियोजनाका लागि नेपाललाई १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । तर सुरुङमार्ग निर्माणमा हाज्मा आन्द्रो जेभीले भने करिब १३ अर्ब रुपैयाँको लागतको प्रस्ताव गरेको थियो ।
आज सम्झौता भएर आउँदो मंसिरबाटै सुरुङमार्गको निर्माण कार्य सुरु हुने बताइएको छ । सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेँसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । यही सर्तअनुसार जापानी कम्पनीसँग सम्झौता हुन लागेको हो ।
थानकोटको दहचोकदेखि धादिङको सिस्ने खोलासम्म कायम हुने सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुने यसअघि नै तय गरिएको थियो । सडकको लम्बाइ आठ किमि कम हुनेछ ।