लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई विगतको तुलनामा पछिल्लो समय हेर्ने दृष्ट्रिकोणमा केही सुधार त आएको छ । तर महिला र पुरुषलाई हेर्ने,उनीहरुले जसरी नै अधिकार प्राप्त गर्ने अवस्था भने अझै आएको छैन् । अझै पनि कानुनमा लिपिवद्ध भएका कुराहरु समेतलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पूर्ण उपभोग गर्न पाएका छैनन् । उनीहरुको समाजमा अवस्था,भोग्नु परेका समस्या र सरकार लगाएत सरोकारवाला पक्षले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा यसै वर्गको हक अधिकारको लागि वकालत गर्दै आएको संस्था मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानसंग अंकुरण खबरको टीमले गरेको कुराकानीको सम्पादित अंश..
तपाई मितिनी नेपालमा आवद्ध भएको कति भयो ?
विगत १३ वर्षदेखि मितिनी नेपाल संस्थाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार प्राप्तिको लागि निरन्तर काम गर्दै आएको छ । म पनि यही समुहको व्यक्ति भएकाले म जस्ता व्यक्तिले भोग्नु परेका समस्याको समधानको खोजी गर्न मेरै नेतृत्वमा सुरुवाती चरणदेखिनै मैले यो संस्था सञ्चालनमा ल्याएकी हुँ ।
यो संस्था सञ्चालन गर्नुको मूख्य उद्देश्य के हो ?
यो संस्था सञ्चालन गर्नुको मूख्य उद्देश्य भनेकै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिले अन्य महिला र पुरुषले जसरी अधिकार प्राप्त गर्छन्, त्यसै गरि प्राप्त गर्नु पर्छ । हामी प्राकृतिक रुपमै महिला पुरुष भन्दा फरक स्वभावका भएकाले हाम्रा इच्छा,चाहाना ,स्वभावमा समाजले बन्देज लगाउनु हुदैन् । हामीले आफ्नो पहिचानको बारेमा खुल्न सक्ने वातवरण बनाउने र आफ्नो वर्गको अधिकार प्राप्तिको लागि सधै सरोकारवालालाई खबरदारी गर्ने उद्देश्यले नै यो संस्था सञ्चालनमा ल्याएको हो ।
लामो समय भयो यो अभियानमा लाग्नु भएको पहिले र अहिले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिमा के कस्तो परिवर्तन पाउनु भयो ?
पहिले भन्दा अहिले धेरै परिवर्तन भएको छ । पहिले पहिले हामी खुलेर बाहिर आउने अवस्था थिएन् । हामीलाई छिछि गरिन्थो । तर अहिले हामी खुलेर बाहिर आउने अवस्था सृजना भएको छ। यति मात्र हैन अहिले राजनीतिक दलमा पनि हाम्रो समुदायको प्रतिनिधित्व छ। सशक्त समुह बनाएर नीति निर्माण तहमा हाम्रो कुरा राख्ने गरेका छौं ।
कुनै दिन डराई डराई बोलेको कुरा अहिले अभियानको रुपमा अगाडी बढेको छ । यो हाम्रो लागि धेरै उपलब्धीको कुरा हो ।
अहिले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको जनसंख्या कति छ ?
२०६८ सालको जनगणनामा स्पष्ट व्यवस्था नहुँदा हाम्रो समुदायको यकिन तथ्याङ्क छैन् । तथ्याङ्क अनुसार करिब १ हजार ५ सयको संख्या मात्र देखियो। यौनिक तथा लैङ्गिक अल्पसंख्यकभित्र पनि समलिङ्गी महिला भनेर बुझाएर तथ्याङ्क संकलन हुन सकेन। हाम्रो तथ्यांकअनुसार करिब आठ लाख जनसंख्या यस वर्गमा रहेको छ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको लागि संविधानमा के कस्ता कुरा लिपिवद्ध भएका छन् ?
नेपालको संविधान धारा ४२, १२ र १८ ले हाम्रो समुदायको हक अधिकार सुनिश्चित गरेको छ । तर यी मुद्धा अझै पनि व्यावहारमा लागु हुन सकेका छैनन् । अहिले हाम्रो संस्थाको मूख्य एजेण्डा नै यही हो की संविधानमा लेखिएका कुरा व्यावहारमा कार्यान्वयन होस् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले कानुनी तवरमा अहिले भोगेका मूख्य समस्या के हुन् ?
हामीले अहिले पनि आफ्नो पहिचान सहितको नागरिकता पाएका छैनौ । जसका कारण धेरै समस्या भोग्नु परेको छ । यदि पहिचान सहितको नागरिकता पाउने हो भने हामीले आफूसँग भएको पार्टनलाई पनि अंशको भागीदार बनाउन सक्छौं।
आफ्नो नामबाट उसलाई पनि पहिचान दिन सक्छौं। हरेक क्षेत्रमा हामीलाई काम गर्नका लागि गाह्रो छ । पुरुष र महिलाले जस्तै हामीले पनि समान अधिकार पाउनुपर्छ । अंश,बंश,धर्मपुत्र राख्न पाउनु पर्ने अधिकार पनि हामीले पाउनु पर्छ भनेर अधिकारको लडाई जारी राखेका छौं ।
मितिनी नेपालको अभियानले अहिलेसम्म गरेको मूख्य उपलब्धि के हो ?
हाम्रो अभियानले गरेको मूख्य उपलब्धी भनेकै हामी अहिले निर्धक रुपमा खुलेर आफ्नो अधिकारको बारेमा कुरा राख्न सक्ने भएका छौ । संविधानमा हाम्रो अधिकारको लागि धेरै कुरा लेखिएको छ । पासपोर्टमा अन्य भनेर जनाइएको छ । हाम्रा मुद्धा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा उठन थालेका छन् । यो हाम्रो ठुलो उपलब्धि हो ।
राज्यले के गर्दा तपाईको माग संवोधन हुन्छ ?
महिला र पुरुषबीचको विवाह मात्र होइन व्यक्ति–व्यक्तिबीचको विवाहलाई पनि मान्यता दिनुपर्छ। जसरी महिला र पुरुषको विवाह हुन्छ, भनेपछि जुन व्यक्ति महिला होस् या पुरुष होस् त्यस व्यक्तिले पार्टन रोजेर विवाह गर्न पाउने अधिकार राज्यले सुनिश्चित गर्नुपर्छ। अरु क्षेत्रमा सरकारले बजेट विनियोजन गरेजस्तै, हाम्रो समुदायका लागि पनि बजेट विनियोजन गर्नुपर्छ । लोक सेवा आयोगमा आरक्षणको व्यवस्था गरिनु पर्छ ।
यस संस्थाको भावी लक्ष्य के छ ?
हाम्रो भावी लक्ष्य पनि यही हो की आगामी दिनमा पनि हाम्रो वर्गको अधिकारको लागि वकालत गरिरहने । पहिले जस्तै घरपरिवारबाट निकालिएका समलिङ्गीलाई पुनः परिवारमा मिलन गराउने, समलिङ्गी जोडीहरूलाई समाजमा सहजरूपमा बाँच्न पाउने व्यवस्था मिलाउने, समाजका हरेक क्षेत्रमा आफ्नो पहिचान सहित अब्बल बन्ने, बनाउने कार्यमा लागिरहने छौं ।