काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेढ वर्षकै अवधिमा चमत्कारिक परिवर्तन खोज्नु कल्पना मात्र हुने तर्क गरेका छन् ।
बिहिबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले पुरानो राजनीतिक प्रणाली र सोच परिवर्तन गर्न समय लाग्ने बताए । अहिले राजनीति पद्धती बदलियो तर सोच र शैली बदलिएको छैन,’ उनले भने, राम्रो गर्न नसके जनता आफैंले विकल्प खोज्छन् हतारिनु जरुरी छैन ।’
उनले आन्दोलनपछिका नेताहरू राणा शासनका बडाहाकिमजस्तै हुने गरेको टिप्पणी पनि गरे । उनले भने, ‘राणा शासनका हाकिम र बडाहाकिम थिए, आन्दोलनपछिका नेताहरू पनि बिस्तारै बडाहाकिम जस्ता हुने गरेका छन्।’ उनले राज्य र नीजि क्षेत्रबीच समन्वय हुनुपर्नेमा पनि जोड दिए ।
प्रचण्डले रुपन्देहीको भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, बुटवल भैरहवा ६ लेन सडक, बुटवल नारायणगढ सडक लगायतले पनि लगानीका लागि प्रयाप्त पूर्वाधार तयार भएको बताए ।
कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारले संयुक्त रुपमै लगानी वृद्धिका योजना र पूर्वाधार तयार गर्नुपर्ने बताए । सम्मेलनमा ५० अर्ब लागनी जुट्ने नगरपालिकाले दाबी गरेको छ ।