काठमाडौं – आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ । ४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने तय गरिएको छ ।
दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको हो । दिवसको अवसरमा विभिन्न नाकाहरुबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रम राखिएको छ । सो अवसरमा पर्यटन मन्त्री योगेश भट्टराईले शुभकामना व्यक्त गरेका छन ।
उनले शुभकामना दिँदै पर्यटन क्षेत्रलाई उच्च महत्व दिने नीति अनुरूप नेपाल सरकारले पर्यटनका नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्ने बताए । त्यस्तै आगमी दिनमा जनता एवं सरोकार समुदायका सुझाव एवं विज्ञहरूको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवर्धन र विकास सम्बन्धी योजना र कार्यक्रमहरूलाई तिब्रता दिइने प्रतिवद्धता प्रकट गरेका छन् ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, मुख्यरुपमा पर्यटक भित्रिने नाकाहरु, काँकडभिट्टा तथा कञ्चनपुरको गड्डाचौकीलगायतका ठाउँमा पर्यटकलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ । त्यसैगरी होटेल तथा हवाई उडानमा पर्यटकहरुलाई विशेष छुट दिइने कार्यक्रम छ ।