काठमाडौं – सरकारले ललितपुरको पुल्चोकमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ ।
आज ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने गरी जग्गा खोजी कार्य अघि बढाइएको जानकारी दिएका हुन् ।
उनले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको बताए । मन्त्री खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि बताए ।
उनले ललितपुर कला र संस्कृतिको हिसावले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिवद्ध भएर लागि परेको दावी पनि गरे ।