काठमाडौं – नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । क्यानाडाको सहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो ।
महासभामा नेपालका तर्फबाट सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले शनिबार हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
हवाई सम्झौतासँगै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउन मद्दत पुगेको पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत जनाएका छन् । ‘दुवै देशले अन्तर्राष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउनुका साथै सहयोगको आदनप्रदान गर्न मद्दत पुग्नेछ । यो सम्झौतापत्रको तयारीमा लाग्नुभएका दुवै देशका सम्बद्ध अधिकारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ मन्त्री भट्टराईले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
उनले हवाई सम्झौताले एक अर्को देशलाई सहयोग गर्ने वातावरण निर्माण हुनुका साथै ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एक सय ९३ देशका झण्डैं दुई हजार बढीको सहभागिता रहेको आइकाओ महासभामा आफ्नो सहभागिता र आफूले त्यहाँ व्यक्त गरेका धारणाले भ्रमण वर्षको प्रचार र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति देखाउन सहयोगी भूमिका निभाएको मन्त्री भट्टराईले उल्लेख गरेका छन् ।