काठमाडौं – सहकर्मी महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन् ।
महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताए । उनले भने, ‘ममाथि झुटो आरोप लगाइएको छ यसको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको हुँ ।’
तीनकुनेस्थित एक महिलाको डेरामा पुगेर उनले जर्बजस्ती गरेको खबर बाहिर आएपछि सभामुख समस्यामा परेका थिए । उनले जर्बजस्ती नभएको दाबी गरेर प्रेस विज्ञप्ति निकाल्न लगाएका थिए । यसमा कुनै कठपुतली प्रयोग गरी फसाउन खोजेको उल्लेख गरेका थिए ।