काठमाडौं – जनकपुरमा प्रहरीको भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
दुर्घटनामा धनुषाको धनौजी गाउँपालिका–२ घर भइ जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर बस्ने १९ वर्षीय मनिष मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आज बिहान साढे ८ बजे सरसफाइ कार्यक्रम गरेर फर्किँदै गरेको प्रदेश २ प्रहरी गणको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यानमा तीव्र गतिमा आउँदै गरेको अनटेस्ट २२० सीसीको पल्सर मोटरसाइकल जनकपुरको रामचोकमा ठोक्किएको हो ।
मोटरसाइकल चालक मण्डलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा मण्डलका घरबेटी नजुर अन्शारी घाइते भएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको जनाएको छ ।