काठमाडौं – महानगरपालिका, नगरपालिका र गाउँपालिकामा निर्वाचित महिला मेयर तथा उप- मेयरले महिला भएकै कारण काम गर्न असहज भयो भन्ने असन्तुष्टि बेला बेलामा सुनिने गरेको छ । के साच्चै नेतृत्व तहमा पनि महिलाले यस्तो विभेद सहनु परेको छ ? नेतृत्व तहमा पुगेका महिलालाई काम गर्न कत्तिको सहज छ ? नागार्जुन नगरपालिकाकी उप- मेयर सुशिला अधिकारीसंग समग्र महिला नेतृको अवस्था र नागार्जुन नगरपालिकाको विषयमा अंकुरण खबरको लागि अनिता मगरले गरेको कुराकानीको सम्पादित अंशः
तपाई महिलाबाट प्रतिनिधित्व गरेर उप मेयरसम्म पुग्नु भएको छ, नागार्जुन नगरपालिकामा महिलाका मुख्य समस्याहरु के के हुन् ?
यो देशैभरको समस्या हो नागार्जुन नगरपालिकाको मात्र समस्या होइन महिला अगाडि बढ्न सक्दैनन् । महिलाहरुले पुरुषले जस्तो काम गर्न सक्दैनन् महिलाहरुको आट हुदैन भन्ने पुरुषवादि सोच अझै पनि हटेको छैन । यो स्थिती नागार्जुन नगरपालिकामा पनि कम छैन । तर पनि हामी नागार्जुन नगरपालिकामा वडाका दुई जना प्रतिनिधि नगरपालिकामा मेयर र उप मेयरमध्ये एक जना निर्वाचित भएर आए पछि महिला उत्थानको लागि धेरै राम्रा कामहरु भएका छन् । महिलाको लागि मात्र नभएर हामी समग्र रुपमा विकास निर्माणका कामहरु पनि धेरै नै गरिसकेका छौं ।
तपाईहरु निर्वाचित भएर आएपछि नागार्जुन नगरपालिकाका जनताले के कस्ता सुविधाहरु प्राप्त गरेका छन् ?
नागार्जुन नगरपालिकाको मूख्य समस्या भनेको बाटोघाटो ,खानेपानी हो । त्यसपछि महिला, दलित पछाडी परेका र पारिएका समुहको वृद्धि विकास र अधिकार दिलाउने कुरा पनि समस्याको रुपमा रहेको छ ।
हामीले सरसरती भन्नुपर्दा नागार्जुन नगरपालिकामा दश वटा वडा छन् । दशैवटा वडामा मुख्य रुपमा रहेका खानेपानीको समस्या लगभग समाधान भैसकेका छन् । धेरै वटा खानेपानीका टेङकीहरु बनिसकेका छन् । मुहानको पानी भएको ठाउँमा मुहानको पानीलाई प्रयोग गरिएको छ भने, नभएको ठाउँमा डिप बोरिङद्वारा खानेपानीको समस्या समाधान गरेका छौ । रामकोट भिमढुंगा, सितापाइला जाने बाटो बाहेक भित्री सडकहरु प्रायजसो सबै पिज ढलान गरिसकेका छौ । त्यस्तै महिला उत्थानको लागि हामीले धेरै तालिम, गोष्ठी सेमिनारहरु चलायौ । त्यसबाट वडा नं. चारका महिला दिदी बहिनीहरुले बेकरी उद्योग खोल्नु भएको छ । अन्य दिदी बहिनीहरुले पनि आफूले सक्ने घरेलु उद्योगहरु सन्चालन गर्नु भएको छ । हामीले नेतृत्व विकासका लागि विभिन्न टे«निङ दिएका छौ त्यसवाट पनि धेरै दिदी बहिनीहरुको क्षमता विकास भएको छ । उहाँहरुले हामी महिला भनेर घरमा मात्र बस्नु हुदैन हामीले पनि देशको लागि केहि गर्नु सक्छौ भन्ने उदारहरणीय कामहरु गरेर देखाई सक्नु भएको छ ।
प्रायजसो नगरपालिका भित्रका बाटोघाटोको अवस्था नराम्रो छ । हिलो र खाल्डाखुल्डीका कारण सवारी दुर्घटना पनि बढेको छ । सडक कालोपत्रे गर्न किन ढिला भएको ?
केन्द्रिय स्तर, प्रदेश स्तर र स्थानीय सरकारले हेर्ने छुट्टा छुट्टै संघ छ । स्थानीय तहमा आफूले गर्ने कामहरु त सबै जनाले राम्रो तरिकाले गरिरहनु भएको छ अहिलेसम्म । मेन त केन्द्रिय सरकारले नै टेन्डर पारेका बाटोघाटोहरु बढि बेवारिसे रुपमा अलपत्र भएको अवस्था छ । केन्द्रिय सरकारले टेन्डर पारेको ठेक्दारहरुले समयमा नै काम नगर्दा अलपत्र भएका सडकहरु धेरै छन् । हाम्रो पनि सितापाइला भिमढुंगा रामकोट निस्किने बैकल्पिक मार्गको रुपमा राखेको छ । त्यो बाटो अलपत्र रुपमा छ । त्यसको लागि हामीले विभिन्न सरोकार समिति बनायौ, स्थानीय सरकारको रुपमा हामी प्रतिनिधिहरु जम्मा भएर हामीले सडक प्राधिकरणमा जाने अनि विभिन्न मन्त्रालयमा जाने कामहरु गर्यो । अब सितापाइलादेखिको बाटो ढलान शुरु भैरहेको छ । अहिले माननीय ज्यू र मेयर साव बाहिर हुनु भएको अवस्थामा म त्यही काममा व्यस्त पनि छु ।
महिला भएकै कारण तपाईले उप- मेयरमा के कस्ता समस्याहरु भोग्नु भयो ?
खासै नगरपालिकाको अनुपातमा हेर्ने हो भने त्यस्तो समस्या त भोग्न परेका छैन् । तर अर्थोक निर्णायक पदहरुमा महिलाहरुले केहि गर्न सक्दैनन् भन्ने धारणा अहिले पनि जीवितै छ । हामीले व्यवस्था परिवर्तन गर्यौ, संविधानमा अधिकारका कुराहरु गर्यौ । त्यति गर्दा गर्दै पनि मानिसहरुको सोचमा परिवर्तन गर्न सकेका छैनौ । मानिसहरुले सोच परिवर्तन गर्यो भने मात्रै सबै व्यवस्थाको कानुनी उपचार हुन्छ नत्र यो व्यवस्था मात्रै परिवर्तन हुन्छ अवस्था भने उस्तै रहन्छ ।
हरेक क्षेत्रमा अझै पनि महिला नेतृत्वको तहमा पुग्न सकेका छैनन् । के महिला असमक्ष भएरै यस्तो भएको हो त ?
होइन, महिला पुरुष भन्दा कम छैनन् महिलाहरु सक्षम छन् । यसको लागि विभिन्न उदाहरणहरु हेर्न सकिन्छ । विभिन्न निर्णायक पदमा पुगेका महिलाहरुले आफ्नो जिम्मेवारी सही रुपमा बहन गरेका धेरै उदाहरणहरु छन् । त्यस्तै उदाहरणीय पात्र बन्न हामी पनि सक्षम छौ । यसको लागि महिलाले पनि केही गर्न सक्छ है भन्ने सोचमा परिवर्तन ल्याउन जरुरी छ । र महिलाहरु पनि आफ्नो अधिकारको लागि कहिले देला भन्दा पनि डटेर अगाडी बढ्नु पर्छ । संर्घषको फल नै मिठो हुन्छ ।
स्थानीय निकायमा धेरै नै भष्टाचारहरु हुन्छ भन्ने आरोप छ । के यो आरोपहरु साच्चै हो ? यसलाई निर्मूल पार्न के गर्नुपर्ला ?
पहिलो कुरा त हाम्रो प्रसाशन एकदम चुस्त दुरुष्त हुनुपर्छ । नेपाल सरकारको कर्मचारीहरु हुनुहुन्छ उहाँहरुबाट विभिन्न कामहरु हुने हो । हामी त जनप्रतिनिधिहरु निर्णायक मात्र हो । हामीले निर्णय गर्छौ कार्यन्यन गर्ने नेपाल सरकारको कर्मचारीहरु हो । उहाँहरुबाट स्वच्छ तरिकाले कामहरु बन्दै गए भने यो भष्टाचार न्युनिकरण हुन्छ ।
चाडपर्वलाई लक्षित गरेर चोरी डकैटीका घटनाहरु बढि देखिन्छन् यस्तो अवस्थालाई निराकरण गर्न नगरपालिकाले के कस्तो योजना बनाएको छ ?
नागार्जुन नगरपालिकाले महानगरीय प्रहरी स्वयमभु, सामुदायिक विट र अस्थाई पोष्टहरुसँग सहकार्य गरेको छ । नगरपालिकाले साझेदार कार्यक्रम अन्तरगत पर्चा, पम्पलेट पनि छपाएर दिइसकेको छ । उहाँहरुलाई अवार्नेसको कार्यक्रम लागि बजेट पनि छुट्टाएका छौ । उहाँहरुलाई अवार्नेस गर्ने र विभिन्न कार्यक्रमहरुमा जाने चोरी डकैटी के कारणले हुन्छ त्यसको लागि हाम्रो कमजोरीहरु के के हुन हामी कसरी सावधान हुनुपर्छ । बाहिर जादा खेरी छिमेकी या पुलिस चौकीमा खबर गर्नुपर्छ भन्ने कुरालाई हामीले अगाडि बढाएका छौ । त्यसै अनुसार गोष्ठी टोलीहरु खटाएका छौ ।
यो दुई वर्षमा नागार्जुन नगरपालिकामा के कस्तो परिवर्तन आयो र नगरपालिकाको भावि योजना के छ ?
नगरपालिकाले दुईवर्ष कटीसकेपछि आधारभुत कार्यक्रम जस्तै बाटोघाटो, खानेपानी नभई नहुने कामहरुमा बजेट लगानी गर्यौ । अबका दिनहरुमा गुरुयोजनाको रुपमा दुई चार वटा उद्योग लगायत विभिन्न देखिने खालको कामहरु गर्नुपर्छ भनेर यो वर्षदेखि बजेत विनीयोजन गरेका छौ । नगरपालिकाको गौरवको योजना भनेर त्यसै अनुसार दुई तीन वर्षमा नभए पनि पाच दश वर्षभित्रमा यस्ता खाले कामहरु गर्नुपर्छ भनेर हामी अगाडि बढेका छौ ।
आगामि दिनमा नेतृत्व तहमा आउन चाहने महिलाहरुले के गर्नुपर्ला ?
पक्कै पनि महिलालाई हरेक काम गर्न अझै पनि पुरुषको जस्तो सहज छैन् । धेरै कुराको असहजताकै बीच जो सक्षम हुनुहुन्छ जो नेतृत्व तहमा आउन चाहानु हुन्छ उहाँ आउनुपर्छ । किन भने हक अधिकार कसैले दिएर लिने चिज होइन आफैले लडेर लिने हो । आफैले आफ्नो हक खोस्ने हो । त्यसमा आफू सक्षम छ र आफूलाई चाहिने क्यापासिटीहरु आफूमा छ भने अवस्य नेतृत्व तहमा पुग्न सकिन्छ । विभिन्न संघ संस्थामा कार्यरत दिदी बहिनी हुनुहुन्छ उहाँहरुलाई विभिन्न पोष्टमा जानको लागि आफ्नो मनसाय र आत्मबल हुनुपर्छ ।
अन्त्यमा सम्पूर्ण नगरवासिहरुलाई के भन्न चाहानु हुन्छ ?
हामीकहाँ दशैं, तिहार लगायतका पर्वहरु नजिकै आएको छ । विशेष गरि नागार्जुन नगरपालिकाका नगरवासि र देशभित्र देशबाहिर बस्ने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई महान पर्व विजया दशमी तथा शुभ दिपावली र छट पर्वको हार्दिक मंगलमय शुभकामना भन्न चाहान्छु । साथै नगरपालिकामा रहेका विकृति विसंगति हटाउदै उदाहरणीय नगरपालिका बनाउन सबै एकजुट भएर अगाडी बढौ भन्न चाहान्छु ।