काठमाडौं – हिन्दू नेपालीको महान पर्व दशैंको रौनक हामी नेपालीको घर आँगनमा भित्रिसकेको छ । दशैंको चहलपहल किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न सकिन्छ । प्राय सबैले आफ्नो कामलाई साइटमा राखेर यो वर्ष दिनको दसैंमा फूर्सद निकालेर आफन्तसँग दशैं मनाउने कसरतमा छन् ।
वर्षभरी गीत संगीतमै रमाउने कलाकारलाई पनि यतिबेला दशैंको माहोलले छोइसकेको छ । दशैंको बेलामा कलाकार अझ बढी व्यस्त हुने गर्छन् । जतिसुकै व्यस्त हुँदा पनि कलाकारहरुले दशैंका लागि आफ्नो समय छुट्याएका हुन्छन् । दशैंलाई सक्दो स्मरणीय बनाउने प्रयास गरिरहेका हुन्छन् ।
विशेष त दशैं मगरहरुको चाडपर्वमा पर्दैन तर परापुर्वकालदेखि नै हाम्रो गाउँ समाजमा मनाउदै आएकाले मगरहरुले पनि अरु जस्तै गरी दशैं मनाउने गर्छन् ।
अथार मगरात संघका कलाकारहरु पनि कोही सांगीतिक कार्यक्रमको व्यस्तताले दशैं मनाउन नपाउने बताउँछन् । कोही कलाकार यसपटको दशैं आफ्ना लागि विषेश हुने सुनाउँछन् । कलाकारले दशैंको विशेष योजना समेत बनाएका छन्, भने कोही कलाकार दशैंलाई हल्काफुल्का मनाउने मूडमा देखिएका छन् । यसैबीच हामीले केही अथार मगरात संघका कलाकारहरुको दशैं योजना उनीहरूकै शब्दमा उतारेका छौँ ।
किरण बाबु पुन, गायक तथा सर्जक
सर्वप्रथम त विजया दशमी तथा दिपावलीको मेरा भगवानरुपी श्रोता तथा दर्शकहरूमा हार्दिक मंगलमय शुभकामना भन्न चाहान्छु । म एउटा कलाकार भएको नाताले चाडपर्वमा पनि गीत संगीतकै कर्ममा तल्लीन हुन्छु । यसपटक केही विशेष कामले गर्दा गाउँ जान पाएन त्यसैले दशैं काठमाडौंमै मनाउने सोचमा छु । म मगर भएको नाताले मेरो संस्कारमा जे सिके त्यही परम्परा निभाएर दशैं मनाउँने छु । हाम्रो मगरहरूमा दशैंको टीका दहीमा अक्षेता राखेर सेतो टीका अनि जमरा लगाउने प्रचलन छ । म पनि त्यसै अनुरुप मनाउँने छु ।
दशैं र तिहारको अवसर पारेर नयाँ गीतको कर्म पनि सुरु गर्ने सोचमा छु साथै देउसी भैलो गीत ‘हजुरको दैलोमा’ चाडपर्वको उपहार स्वरुप मेरा श्रोता -दर्शकहरू सामु प्रस्तुत गर्दैछु । अन्तमा मेरा श्रोता तथा दर्शक मनहरूमा आफ्नो दक्ष अनुसार घाँटी हेरी हाड निल्नु पर्छ भन्ने उखानलाई मनन गर्दै तडकभडक होइन जे छ त्यसैमा खुशी भएर चाडपर्व मनाउँनुहोला भन्न चाहान्छु ।
तुलसा घर्ती मगर, गायिका
मेरो यसपालीको दशैं काठमाडौंमै हुन्छ यसरी नै दशैं मनाउछु भनेर खासै प्लान गरेको छैन । दशैं मेरा लागि पनि विशेष रमाइलो लाग्ने चाड हो । तर अहिले त्यति फुर्सद नपाएकाले साथीहरुसँग भेट्ने अवसर मिलेको छैन् । आजकाल गीत संगीतमै व्यस्त छु । दशैं लगतै प्रवासी नेपाली एकता मन्च ओमनको आयोजनामा दशैं विशेष सास्कृति कार्यक्रममा जादैछु । अहिले यसकै लागि विजी छु । स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई दशैंको शुभकामना ।
गोपाल नेपाल जि. एम., गायक तथा मोडल
सामान्यतया हामी अरुहरुको जस्तै गरि दशैं मनाउने हो । यसपालीको मेरो दशैं काठमाडौंमै हुन्छ। परिवार नै यतै भएकाले यसपालीको दशैं रमाईलै हुन्छ । दशैंको प्लान नै भनेर त सोचेको छैन तर भ्यालीभित्र र बाहिर कन्सर्ट रहेको छ त्यसमै व्यस्त हुन्छु । दशैँमा रमाइलो गर्ने आ–आफ्नो तरिका हुन्छ । विचार गरेर अरुलाई र आफूलाई हानी नहुने गरी दशैँ मनाउन सबैलाई अनुरोध गर्छु ।
भुमसरी पुन, गायिका
देशभित्र देशबाहिर बस्ने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई महान पर्व विजया दशमी तथा शुभ दिपावली र छट पर्वको हार्दिक मंगलमय शुभकामना भन्न चाहान्छु । यसपालिको मेरो दसैं काठमाडौंमै मनाउदैछु । घर परिवारबाट टाढा छु सो परिवारलाई धेरै सम्झिरहेको छु । कारणवस टीका लगाउन जान पाईन तर पनि आमा बुवाको आशिर्बाद सधै रहिरहनेछ । साथीहरुसँगै रमाईलो गरेर काठमाडौंमै दशैँ मनाउने छु ।
पुर्ण बुढा मगर, गायक
विशेष त दशैं मगरहरुको चाडपर्वमा पर्दैन तर परापुर्वकालदेखि नै हाम्रो समुदायमा मनाउदै आएकाले मगरहरुले पनि दशैं मनाउने गर्छन् । मैले पनि अरुले जस्तै गरि दशैं मनाउने हो । यसपाली दशैंमा गाउँ जादैछु । विभिन्न कार्यक्रमहरु पनि रहेको छ सकेसम्म सहभागी हुने प्रयास गर्नेछु । धेरै कामहरु बिचैमा छोडेर जादैछु त्यसैले दिशैं लगतै काठमाडौं फर्किनेछु । जे होस यसपालीको दशैं रमाईलै हुन्छ । घरमा गएर पुजापात गर्ने ठूलाबडाको हातबाट टिका जमरा ग्रहण गर्ने र आर्शिवाद लिने चलन विशेष लाग्छ ।
अरुणा मगर, गायिका
दशैंको छुट्टै किसिमको महत्त्व छ । हरेक कुराले दशैंलाई स्पेशल बनाएको हुन्छ । दशैं मेरा लागि पनि विशेष रमाइलो लाग्ने चाड हो । तर, यसपटकको दशैंमा म काठमाडौंमै हुन्छु । परिवार पनि यतै भएकाले र मेरो व्यस्तताले गर्दा पनि गाउँ जान पाइन । गाउँमा चंगा उडाएको,पिङ खेलेको र साथीहरुसँग रमाईलो गरेको एकदम मिस हुन्छ । गाउँमा जस्तो रमाइलो नभए पनि त्यो माहोल आफैले बनाउने हो जस्तो लाग्छ । ठूलोबाट टीका जमरा ग्रहण गरि आर्शिवाद लिदै दशैं मनाउने छु ।
नन्द घर्ती मगर, कलाकार
सत्र वर्षपछि दशैं मनाउन गाउँ जादैछु । परिवार आफन्तहरुसँग लामो समयपछि भेट हुदाँ रमाईलो त लाग्छ नै । दशैँमा खासै विशेष त केही पनि छैन आफैले नै रमाईलो माहोल बनाएर मनाउने हो । परम्परागत रितीरिवाजलाई हामी सबैले जर्गेना गनुपर्छ जस्तो लाग्छ । यसपाली आफन्तको हातबाट सेतो टीका ग्रहण गरेर आशिर्वाद लिएर दशैं मनाउने छु । सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई बढी तडक भडक नगरि आ- आफ्नै तरिकाले खुसी भई दशैं मनाउन आग्रह गर्छु ।
करिश्मा घर्ती मगर, गायिका
यसपटकको दशैंमा परिवारसँग भेटघातको लागि जन्मघर सुर्खेत जाँदैछु । आफन्तको हातबाट टीका ग्रहण गरि आशिवार्द लिदा रमाईलो लाग्छ मलाई काठमाडौंमा भन्दा गाउँमा नै दशैं मनाउन रमाईलो लाग्छ । त्यसैले जसरी पनि समय मिलाएर हर साल दशैं मनाउन गाउँ जाने गरेकी छु । यसपालिको दशैंले सबैलाई सुख र शान्ति दिओस् ।
कमल बुढा मगर, गायक
दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड हो । दशैंको आफ्नै महत्व छ । मैले भने दशैं खासै मनाउदिनँ । मेरा लागि चाहिँ दशैं सामान्य हो । यो दिन मलाई खासै विशेष दिन लाग्दैन । मैले काठमाडौमा दशैँको समय अवधी बिताएको लगातार १७ वर्ष भयो । यसपाली चाहिँ साथीहरुसँग उपत्यका बाहिर जाने सोचमा छु । जे होस्, दशैंलाई स्मरणीय बनाएर मनाउने योजना छ ।
तुलसा पुन, गायिका
यसपालीको दशैं रोल्पामै मनाउँछु । दशैंको रमाइलो पक्ष चाहिँ के लाग्छ भने दशैंमा दाजु भाइ दिदी बहिनीदेखि सबै आफन्तसँग भेट हुने मौका पाइन्छ । अरुबेला झैँ टीका र जमरा लगाउन र बुबा–आमाको आशीर्वाद लिन पनि गाउँ जादैछु रमाईलो हुन्छ यसपालीको दशैं ।
भुवन सागर मगर, गायक
ठूलोबाट टीका थापी आशीर्वाद लिएर र सानोलाई टीका लगाइदिएर दशैँ मनाउने हो । यसपटकको दशैंमा पनि म गाउँ जादैछु दशैंमा निकै रमाईलो हुन्छ सायद । यसपालिको दशैं चाहिँ केही फरक हुन्छ । दशैंको अवसर पारेर रुकुममा विभिन्न सास्कृतिक कार्यक्रम पनि राखिएको छ । त्यसमा पनि सहभागी हुनेछु । देश विदेशमा रहने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई महान पर्व विजया दशमीको हार्दिक मंगलमय शुभकामना भन्न चाहान्छु ।
सान्त्वना रोका मगर, मोडल
दशैंमा खासै विशेष त केही पनि छैन । तर यसपाली दशैंमा गाउँ जादैछु साथीसंगी आफन्तहरुसँग भेट्दा स्पेशल नै हुन्छ मेरो लागि । टिका जमरा लगाई आशिवार्द ग्रहण गरेर दशैं मनाउने छु । दशैं लगतै फेरी म अफ्नो कर्मथलो काठमाडौ फर्किनेछु ।