काठमाडौं – बलात्कार गरेको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको केहि बेरमै प्रहरीले महरालाई पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आइतबार अनुमति दिएको केहि बेरमै महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महराले सभामुखमा रहेका बेला संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई करणी प्रयास गरेको आरोप लागेको छ। उनीविरुद्ध शाहीले शुक्रबार किटानी जाहेरी दिएकी थिइन्। महराले गत आइतबार शाहीको कोठामा गएर नराम्रो काम गरेको घटना सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएलगत्तै उनले सभामुखबाट राजीनामा दिएका छन्।
सभामुखको सरकारी निवास बालुवाटारमा रहेका महराविरुद्ध किटानी जाहेरी परेलगत्तै प्रहरीले कडा निगरानी राखेको थियो। नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ ।
रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।