logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महराको स्वास्थ्य परिक्षण, देखियो स्वासप्रस्वासको समस्या


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेपछि पक्राउ परेका कृष्णबहादुर महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो ।

सिंहदरबार वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या दखिएको छ। उनलाई सामान्य हिरासत कक्षमा नै अक्सिजन दिएर राखिएको बताइएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतवार साँझ सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो । बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेको थियो, संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हो।

गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ।