काठमाडौं – ओमनमा जारी पाँच देश बीचको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालको प्रदर्शन उत्कृष्ट रहेको छ। नेपालले सोमबार सिरिजको दोस्रो खेल खेलेको थियो। जसमा नेदरल्यान्डमाथि नेपालले सनसनीपूर्ण जीत निकालेको छ। नेपालले नेदरल्यान्ड चार विकेटले पराजित गरेको हो।
नेपालको जीतमा करण केसीले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले बलिङतर्फ ४ विकेट लिए भने ब्याटिङमा पनि अन्तिममा १४ बलमा ३१ रन प्रहार गरेर नेपाललाई जीत दिलाए। उनी नकआउट रहेका थिए। नेदरल्यान्डले दिएको १३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै पूरा गरेको थियो।
यस्तै, कप्तान पारस खड्काले ३३ रनको योगदान दिँदा विनोद भण्डारीले २६ रन जोडे। बलिङमा नेदरल्यान्डका रिलोफले २, ब्रान्डन ग्लोभर, पल भ्यान मेकिरेन र फ्रेड क्लासेनले एकरएक विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको थियो।
नेपालको तर्फबाट करण केसी र सन्दीप लामिछानेले समान ४र४ विकेट लिएका थिए। सन्दीपले चार ओभरमा मात्र २० रन दिए भने करणले ३.३ ओभरमा १७ रन दिएर चार विकेट लिएका थिए। सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो। उक्त खेलमा पनि करण केसीको उत्कृष्ट प्रदर्शन रहेको थियो।
सिरिजमा दुई खेल खेलेको नेपाल दुवैमा जीत हासिल गरेर ४ अंकका साथ दोस्रो स्थानमा छ। समान खेल खेलेर समान अंक रहेको आयोजक ओमन रनरेटका आधारमा पहिलो नम्बरमा रहेको छ।