logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने


अंकुरण खबर
3.913K
Shares

काठमाडौं – चीनले राष्ट्रपति सी जिनपिङले नेपालको राजकीय भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ । आज चिनिया विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले आगामी शनिवार र आइतबार नेपालको भ्रमण गर्ने जानकारी दिएका हुन् ।

राष्ट्रपति सी ले भारतको तमिलनाडु राज्यको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठकपछि नेपालको राजकीय भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ती प्रकाशित गरी आगामी शनिवार सी नेपालको राजकीय भ्रमणमा आउने जानकारी दिएको छ ।

चिनियाँ राष्ट्रपति सीले दुई दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ । भ्रमणका क्रममा दुईपक्षिय हितका विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । चीनका राष्ट्रपतिले तेइस वर्षपछि नेपालको भ्रमण गर्न लागेका हुन । सी जिनपिङ राष्ट्रपति भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।