logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैं मनाएर कर्मथलो फर्कने यात्रु वृद्धि


अंकुरण खबर
1.066K
Shares

काठमाडौं – विजयादशमी मनाएर उपत्यका फर्कने यात्रुको सङ्ख्या बढेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर आफ्नो कर्मथलो उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हो ।

ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार बुधबार बिहानदेखि बिहिबार बिहानसम्म ११ हजार ४२१ सवारीसाधनमा ७० हजार ७५९ यात्रु उपत्यका भित्रिएका छन् । यस्तै नौ हजार ६७३ सवारीसाधनमा ५६ हजार ७०५ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै यात्रु भक्तपुरको जगाती नाका हुँदै उपत्यका भित्रिएका छन् । जगातीबाट ३८ हजार ९३३, नागढुङगा नाकाबाट २६ हजार ३५७, मुड्खुबाट एक हजार ४८७ र फर्पिङ नाका हुँदै तीन हजार ९८२ यात्रु उपत्यका भित्रिएका हुन् ।

विजया दशमी सकिएसँगै कर्म थलो फर्कने यात्रुको सङ्ख्या वृद्धि भएको हो । उपत्यकाबाट बाहिरीने यात्रुभन्दा उपत्यका भित्रिने यात्रुको संख्या बढी भएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।  दशैँको अष्टमीदेखि विजयादशमीसम्म काठमाडौंको सडक सुनसान भए पनि यात्रु भित्रिएसँगै उपत्यकाका सडकमा विस्तारै चहलपहलसमेत बढ्न थालेको छ ।