काठमाडौं – लामो बिदापछि खुलेको शेयर बजार सुखद् रहेन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आइतबार नेप्से १२.०५ अंकले घटेर ११३६.९६ बिन्दूमा झरेको छ ।
आइतबार कुल १५४ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २१ करोड ८६ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार रकम पनि सामान्यभन्दा निक्कै कम हो ।
यस दिन कारोबारमा आएका समूहमध्ये सामूहिक लगानी कोष समूहबाहेक सबै समूहमा गिरावट आएको छ । यस दिन प्रभु बैंकको कारोबार उच्च भएको छ । यस कम्पनीको साढे दुई करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै आइतबार राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ । त्यस्तै सिनर्जी पावर कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ ।