काठमाडौं – लगानीकर्ता ढुक्क हुन नसक्दा सूचीकृृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेको स्थितिमा पनि पुँजी बजार सुस्ताउँदै गएको छ । घट्दा ह्वात्तै घट्ने र वृद्धि हुँदा झिनो अंकको सुधार हुने अवस्था रहेको पुँजी बजारमा कारोबार रकम पनि अत्यान्तै न्यून हुने गरेको छ ।
विगतमा दैनिक अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएको शेयर बजार हिजोआज मुस्किलले २०–२२ करोडको कारोबार हुने गरेको छ । यसै सन्दर्भमा असोज महिना एवम् साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकको सुधार देखिएको छ । आज शून्य दशमदव ७१ अंकले बढेर ११३७.७५ बिन्दूमा पुगेको छ । अघिल्लो बुधबार ५ अंकभन्दा बढी घटेको थियो । कुल १६० वटा कम्पनीको ९ लाख ९८ हजार कित्ता शेयर १८ करोड २९ लाख रुपैयाँभन्दा केही बढीको मात्रै कारोबार भएको छ ।
आज कारोबारमा आएका समूहमध्ये विकास बैंक, जलविद्युत्बाहेक समूहको बढेका छन् यस दिन प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । बिहीबार पनि प्रभु बैंकको सबैभन्दा बढी अर्थात करिब दुई करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन बुधबार यस बैंकको ५ करोड ४४ रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
त्यस्तै बिहीबार सानिमा इक्वीटी फन्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस योजनाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ । त्यस्तै महुली लघुवित्त कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।