काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका चयनका लागि बिहीबार मतदान सुरु भएको छ । काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एक दिन ढिला गरी एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो ।
निर्वाचनमा एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कुल आचार्यले आ–आफनो टिम बनाएर उम्मेदवारी दिएका छन् । चुनावी प्रचार अभियानका क्रममा पन्त र आचार्यले आ–आफ्नै पक्षको जित हुने दावी पनि गरेका छन् ।
सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता निःशुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन् भने प्रतिस्पर्धी आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सारेका छन् ।
पन्तले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने एजेन्डालाई जोड दिए। निर्वाचनमा भाग लिनका लागि एनआरएनएका २६ सयभन्दा बढि प्रतिनिधिहरु सहभागी भएका छन् ।