अहिले क्यान्सरका बिरामी निकै बढ्दै गएका छन् । वंशाणुगत गुण, अस्वस्थ खानपान तथा विषादी प्रदुषणले बच्चाहरुमा क्यान्सर बढेको देखिन्छ । बच्चामा क्यान्सर हुने कारण, यसका लक्षण र यसबाट बच्न अप्नाउनु पर्ने सावधानीका बारेमा बाल क्यान्सर रोग विशेषज्ञ डा.कैलाश प्रसाद शाहसंग अंकुरण खबरका लागि गरिएको कुराकानीमा अधारित अंश‘
बाल क्यान्सर भनेको के हो ?
बच्चाहरुमा हुने क्यान्सरलाई नै बाल क्यान्सर भनिन्छ । पछिल्ला केही वर्ष यता बच्चाहरुमा पनि क्यान्सरको समस्या धेरै देखिन थालेको छ । अझै पनि कत्तिपयको बुझाई छ की क्यान्सर ठुला मानिसमा मात्र देखापर्छ । तर त्यसो हैन् । ठुला मानिसको तुलानामा बच्चालाई हुने क्यान्सरको मामिलामा धेरै सावधानी अपनाउनुपर्छ । किनभने बच्चामा क्यान्सर भएको थाहा पाउन र त्यसको उपचार गर्न तुलानात्मक रुपमा अलि गाह्रो हुन्छ र निको हुने सम्भावना ८० देखि ९० प्रतिशत सम्म हुन्छ ।
बच्चालाई क्यान्सर हुने कारण :
आजकाल विश्वमा बच्चालाई हुने क्यान्सरको दर लगातार बढीरहेको छ । बच्चाहरुलाई क्यान्सर हुने प्रमुख कारण इडियोप्याथी (थाह नपाई हुने क्यान्सर), बंषाणुगत, अस्वस्थ खानपान र विषादी मिसिएको खानेकुरा, विकिरण र भाईरल संक्रमण मुख्य मानिन्छ ।
बच्चाहरुलाई लाग्ने क्यान्सरका प्रकार :
बच्चाहरुलाई हुने क्यान्सरमध्ये सबैभन्दा धेरैलाई ब्लड क्यान्सर हुने गरेको पाइएको छ । रक्षात्मक प्रणालीसँग सम्बन्धित ल्युकेमिया र लिम्फोमाको क्यान्सर पनि बच्चालाई धेरै हुने क्यान्सरमा पर्छन् ।
शरीरको अंगमा हुने क्यान्सरको कुरा गर्दा ब्रेन ट्युमर, न्युरो ब्लास्टोमा, किड्नी ट्युमर, आँखाको ट्युमर, हड्डीको क्यान्सर, कलेजोको क्यान्सर बढी देखिने गरेको छ ।
बच्चालाई क्यान्सर भएमा यस्ता लक्षण देखिन्छन् :
शरीरको कुनै पनि भागमा कालो दाग धब्बाहरु देखिने ।
बारम्बार कडा ज्वरो आउने र तौल घट्ने ।
बिना कारण बच्चा दुई साता भन्दा धेरै बिरामी हुने ।
शरीरको विभिन्न भागबाट रगत बग्ने ।
बच्चालाई बारम्बार इन्फेक्सन हुने ।
खाना नरुच्ने, थकान महशुस हुने ।
एकाएक चोट लाग्ने वा रक्तश्राव हुने ।
हड्डी, जोर्नी पिठ्ँयुमा दुखाई हुने ।
बच्चाको व्यवहार, सन्तुलन र उसको चालमा परिवर्तन आउने ।
टाउको दुख्ने, वाकवाकी लाग्ने आदि भएमा पनि यो क्यान्सरको लक्षण हुन सक्छ ।
बच्चाहरुलाई क्यान्सर हुनबाट जोगाउन निम्न सावधानी अप्नाउनु पर्छ :
माथिका लक्षण देखिने वित्तिकै चिकित्सककोमा गएर जाँच गराउँनु पर्छ ।
गर्भवती भएको बेलामा एक्सरे गराउन हुँदैन ।
परिवार नियोजनका लागि प्रयोग हुने खाने चक्कीहरु सेवन गर्नु हुदैन ।
किशोरी अवस्थामा प्यापिलोमा भाइरस सम्वन्धी खोप लगाउनु पर्छ ।
क्यान्सरको बेलैमा उपचार नगरे वा यो क्रोनिक अवस्थामा पुगे यसले मस्तिष्क, मुटु, मृगौला लगाएतका अन्य अंगमा पनि असर गर्न सक्छ । क्यान्सरको उपचार गरेका बालबालिकालाई चिकित्सकले भने बमोजिम निगरानीमा राखिरहनु पर्छ ।
अहिले नेपालमा पनि बच्चाको क्यान्सरको उपचार गर्ने प्रभावकारी उपकरण,दक्ष चिकित्सकहरु रहेका छन् । क्यान्सरको बेलैमा प्रभावकारी उपचार गरे,चिकित्सकको सुझाब अनुसार अगाडी बढे सामान्य जीवनयापन जीउन सकिन्छ ।
डा. कैलाश प्रसाद शाह ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन् ।