काठमाडौं – डोजरले महिला हुत्याउने बैतडीका एक चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो । घटनामा संलग्नभएको आरोपमा चालकसहित अन्य ३ जना पनि पक्राउ परेका छन् ।
डोजरले महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको बैतडी प्रहरीले जनाएको छ ।
दशरथचन्द नगरपालिका वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो ।
झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याइएको थियो । जोशीलाई डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते भएकी छन् । उनको अहिले कोहलपुरमा उपचार भइरहेको छ ।