स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजाराको आज मृत्यु भएको हो ।
मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खस्दा स्काभेटरले किचेको प्रहरीले जनाएको छ । लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीले जनाएको छ ।
स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।