रौतहट बम बिस्फोट प्रकरणमा प्रकाउ परेका काग्रेस नेता अफ्ताव आलमको पक्षमा काँग्रेसका कार्यकर्ताले कालोपट्टीसहित प्रदर्शन गरेका छन् । शुक्रबार अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट तेस्रो पटक आठ दिनका लागि म्याद थप भएपछि कांग्रेस कार्यकताहरुले प्रदर्शन गरेका हुन् ।
आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै काँग्रेसका कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपट्टी बाँधेर मौन प्रदर्शन गरेका थिए । नेपाली काँग्रेस जिल्ला कार्य समितिले शनिबार समेत गौरमा प्रदर्शनको कार्यक्रम तय गरेका छन् ।
आलम पक्राउ परेलगत्तै काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको निष्पक्ष अनुसन्धानमा सघाउने बताएका थिए । त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले पनि कानूनी अनुसन्धानमा कुनै अवरोध नगर्ने भन्दै निष्पक्ष छानविनका लागी सघाउने बताएका थिए । तर पार्टीको नीति बिपरित कांग्रेसका कार्यकताहरु विरोध प्रदर्शनमा उत्रेका हुन् ।
पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा छन् ।