स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डाइलाइसिस गरिएको छ । मिर्गौलाले काम गर्न छाडेपछि चिकित्सकहरूले आकष्मिकरूपमा डाइलाइसिस गरेका हुन् ।
सरकारी निवास बालुवाटारबाट बिहान साढे १० बजेको समयमा धापासीस्थित ग्राण्डी अस्पतालमा लगिएका प्रधानमन्त्रीको शरीरमा क्रेटिनाइन र प्रोटिन अत्यधिक देखिएपछि मिर्गौला बचाउन दिउँसो २ बजेतिर डाइलाइसिस गरिएको हो । अस्पताल प्रशासन र उपचाररत चिकित्सकहरूले प्रमको स्वास्थ्य र उनको विरामीसम्बन्धी स्वास्थ्य रिपोर्ट अत्यन्त गोप्य राखेका छन्। उनलाई अब अर्को पटक डाइलाइसिस गर्ने नगर्ने टुंगो गरेर चिकित्सकले भोलिसम्ममा डिस्चार्ज दिनेछन् ।
गत भाद्रमा सिंगापुरमा ६ पटकसम्म प्रधानमन्त्रीको प्लाज्मा फेरोसिस विधिबाट उपचार गरिएको थियो । यो विधि मिर्गौलाको उमेर बढाउन प्रयोग गरिन्छ। त्यहाँ यो विधिबाट उपचार सफल भएपछि मिर्गौलाको डाइलाइसिस नगरी प्रधानमन्त्री नेपाल फर्किएका थिए । बुधबार ग्राण्डीमा पुर्याइएका प्रधानमन्त्री ओलीको त्यहाँस्थित आईसीयूको बेड नम्बर १४१६ मा राखेर उपचार थालिएको थियो । मिर्गौलाका बिरामी प्रधानमन्त्री ओलीलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि बुधबार बिहान सरकारी निवास बालुवाटारबाट चेकजाँचका लागि ग्रान्डी लगिएको थियो।
ग्राण्डी अस्पताल स्रोतका अनुसार बुधबार दिनभर गरिएको चेकजाँचका क्रममा प्रधानमन्त्रीको रगतमा क्रेटिनाइन र प्रोटिन अत्यधिक बढेको पाइएको छ ।
प्रधानमन्त्रीको समस्या के हो ?
स्रोतका अनुसार मिर्गौलामा गम्भीर समस्यासँगै प्रधानमन्त्रीको फोक्सोमा पनि संक्रमण भएको पाइएको छ। उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रमको फोक्सोमा पानी जमेको छ। तर बुधबार साँझ ग्राण्डी अस्पतालको तर्फबाट निकालिएको प्रेस नोटमा प्रमको स्वास्थ्य सामान्य रहेको उल्लेख छ।