logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुकुटे बस दुर्घटना : ‘बच्चालाई दूध चुसाउँदै थिएँ, डुबिसकेको रहेछु’


अंकुरण खबर
1.066K
Shares

काठमाडौं – ‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो । दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो । त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो ।

बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे । म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ । मेरो बच्चा २ महिनाको मात्रैै थियो ।’ –घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भन्नुभयो ।

धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ। ‘शरीर चुर्लुम्म डुबेछ। झस्याङ भएँ। दूध चुसिरहेको छोरो काखमा छैन। म पनि डुबिरहेको रहेछु’, सरिताले भन्नुभयो– ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेको थिएँ।

काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होस आयो।’ ‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो। मेरो छोरा हराइरहेको छ। धेरैबेर खोजें। अरूले पनि खोज्न सहयोग गर्नुभयो तर फेला परेन।

अनि मलाई अस्पताल ल्याइयो।’ –सरिताले भन्नुभयो।सरिताका अनुसार मुढेभन्दा अगाडिदेखि नै बस बिग्रिएको थियो। बिग्रिएको बसलाई चालकले विस्तारै विस्तारै रोकेर अन्यत्र स्थानमा पनि बनाउँदै खाडीचौरसम्म ल्याइपुर्याएका थिए। खाडीचौरमा खाना र खाजा खाएपछि बस सामान्य अवस्थामा गुडिरहेको थियो।

बसभित्र म्युजिक पनि गुन्जिरहेको थियो। सबै निदाएजस्तै शान्त अवस्थामा थिए। बस खचाखच थियो। सरिताको जेठो छोरा ३ वर्षको छ। श्रीमान् एक महिनाअघि मात्रै वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानुभएको छ। घरमा आफन्तलाई जेठो छोरा छाडेर सरिता काठमाडौं जान उक्त बसमा चढ्नुभएको थियो। नेपाल समाचार पत्रमा खबर छ ।