काठमाडौं – साताको चौथो दिन बुधबारको कारोबारमा पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावट भएको छ ।
सोमबार ०.९७ अंकले बढेकोमा मंगलबार ०.८१ अंकले घटेको थियो । आज बुधबार १.४४ अंकले घटेर ११३८.०२ बिन्दूमा झरेको छ । बुधबार कुल १६० वटा कम्पनीको ७ लाख ५० हजार कित्ता शेयर २० करोड ६२ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।
आज कारोबारमा आएका समूहमध्ये व्यापार, लघुवित्त, जीवन बीमा र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूह घटेका छन् । प्रभु बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको करिब साढे करोड रुपैयाँको कारोबार भएको छ । पछिल्ला दिनमा प्रभु बैंकको शेयर उच्च हुँदै आएको छ ।
समग्र परिसूचकमा झिनो गिरावट भएको दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
महालक्ष्मी विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे चार प्रतिशतले घटेको छ ।