logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वदलीय बैठकमा भारतीय राजदूतलाई बोलाएर स्पष्टकीरण सोध्न प्रधानमन्त्रीलाई सुुझाव


अंकुरण खबर
1.014K
Shares

बालुवाटारमा जारी सर्वदलीय बैठकमा दलहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टकीरण सोध्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुुझाव दिएका छन्।

भारतले नेपालको ठूलो भूमिसहितको नक्सा जारी गरेपछि बसेको सर्वदलीय बैठकमा सबै दलका नेताहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न सुझाव दिएका छन् ।  भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको करिब ३७ हजार हेक्टर  नेपाली भूमिलाई गत आइतवार जारी गरिएको नयाँ राजनीतिक नक्सामा राखेपछि आक्रोश बढेका बेला दलहरुले यस्तो सुझाव दिएका हुन् ।

नेपालले आफ्नो जमिन धेरैथोरै नभनी जोगाउनुपर्ने सुझाव दिइएको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका नेता डा. प्रकाशचन्द्र लोहनीले बताए। उनले भने ‘आफ्नो जमिन थोरै धेरै भन्ने कुरै छैन । एक इन्च पनि अतिक्रमण गर्न दिनुहुन्न । ‘कालापानीमा पहिल्यै भारतीय सेनाको टुकडी बसेको हो। त्यो सेनाको टुकडी त्यतिखेरै जानुपर्थ्यो। सेना बसेको भूभाग आफ्नो नक्समा हाल्नु भारतको झन् ठूलो गल्ती हो।’  कालापानीको उद्गमस्थल अब कहाँ भन्ने कुरामा कुनै विवाद नरहेको लोहनीले बताए। ‘कालापानीको उद्गमस्थल लिम्पियाधुरा हो भन्ने कुरा नक्सा र तथ्यहरूले देखाएका छन्’, लोहनीले थपे, ‘त्यहीकारण सरकारले कति पनि जमिन छोड्नुहुन्न।’ लोहनीले यो विषयमा सबै नेपाली जनता एकै ठाउँ रहेको उल्लेख गर्दै सरकारलाई मौका पनि रहेको बताए । ‘जनता पनि भारतबाट सिमाना मिचिएको मुद्दामा एकमत छन्।  ‘सबै उपाय लगाउँदा पनि भएन भने संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय मञ्चमा कुरा राख्नुपर्छ’, उनले थपे।