काठमाडौं – साताको दोस्रोे दिन सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १३.७७ अंकले बढेर ११४५.५७ बिन्दुमा पुगेको छ ।
सोमबार कुल १७५ वटा कम्पनीको १९ लाख ९५ वटाभन्दा बढी कित्ता शेयर ५४ करोड ९९ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । आज कारोबारमा आएका समूहमध्ये अन्य समूहबाहेक बाँकी सबै समूह बढेका छन् । आज पनि एनएमबी बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको १३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
पछिल्ला दिनमा उच्च शेयर कारोबार हुँदै आएको प्रभु बैंक आज दोस्रो स्थानमा रहेको छ । प्रभु बैंकको शेयर आज सात करोड करोडभन्दाको कारोबार भएको छ ।
समग्र परिसूचकमा बढेको दिन हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर सबै परिसूचक वृद्धि भएको दिन नबिल समृद्धि फन्ड–१का कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब छ प्रतिशतभन्दा बढीले घटेको छ ।