रुकुम, जिल्ला पश्चिमका एक कर्मचारी सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
पक्राउ पर्नेमा जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का रहेका छन्। १५ हजार घुस रकम माग गरिरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ खलंगास्थित जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट उनलाई आज नियन्त्रणमा लिइएको हो ।
आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले निकालेको प्रेस विज्ञप्ति अनुसार अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक-पटक मोलमोलाई गरी ६० हजार रुपैयाँ खड्काले माग गरिरहेका थिए।
घुस रकम बार्गेनिंग गरी अन्तिममा १५ हजार नदिइकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुस्ख दिइरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ।