logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि बन्द


अंकुरण खबर
1.404K
Shares

काठमाडौं – आजदेखि भद्रपुर विमानस्थल १० दिन पूर्णरूपमा बन्द हुने भएको छ । झापाको चन्द्रगढीस्थित  भद्रपुर विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द हुने भएको हो ।

विमानस्थलको नियमित मर्मत सम्भार गर्नको लागी विमानस्थल बन्द हुने व्यहोरा नागरिक उड्डयन प्राधिकरणले बताएको छ । यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुनेछ ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गएको भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य सुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए।

गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाण्डौले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँमा ठेक्का लिएको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको उनले जानकारी दिए । यस विमानस्थलमा नेपाल, बुद्ध, यती, सौर्य, श्री एयरलाइन्सले उडान भर्दै आएका छन् । झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने भएको छ ।