logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्ट्रेलियाका दुईवटा राज्यमा डढेलोका कारण सङ्कटकाल घोषणा


अंकुरण खबर
1.859K
Shares

देशको पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा “भयावह” खतरा उत्पन्न भएपछि अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको अवस्थामा पुगेको घोषणा गरेका छन्।

मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हज्जारौँ विस्थापित भएका छन्।

अधिकारीहरूले मंगलवार देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने बताएका छन्।

ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको छ।

क्षति

आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन्।

क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ।

“हामी सबैले यस विषयमा सतर्क रहनुपर्छ र कुनै पनि हालतमा सुस्तता आउन दिनु हुँदैन,” न्यू साउथ वेल्स राज्यकी प्रमुख ग्लाडिस बेरेजिक्लियनले भनिन्।

जलवायु परिवर्तनका कारण आगलागीलाई बल पुगेको भन्ने आलोचनाको प्रतिक्रियामा अस्ट्रेलियाको अनुदार सरकारले त्यसको खण्डन गरेको छ।

‘कालो शनिवार’ भनेर चिनिने एउटा प्रकोपपश्चात् एक दशक अघि आगलागीको खतराबारे त्यहाँ नयाँ मापदण्ड बनाइएको थियो।

त्यसयता पहिलो पटक न्यू साउथ वेल्सका अधिकारीहरूले आगलागी खतराको तहमा पुगेको चेतावनी जारी गरेका छन्।

चेतावनी

सिड्नीको उत्तर र दक्षिण सहित ठूलो क्षेत्रमा पनि यस्तै चेतावनी दिइएको छ।

अस्ट्रेलियातस्वीर कपीराइटREUTERS

मंगलवार तापक्रम ३७ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको छ। आगलागीको खतरा सबैभन्दा धेरै न्यू साउथ वेल्समा देखिएको छ।

आगलागी भएकामध्ये कतिपय सुक्खा प्रभावित क्षेत्र पनि छन्। आगोको मुस्लोका बीच घरहरूमा मानिसहरू फसेको खबरहरू पनि आएका छन्।

उक्त राज्यमा मात्र एक हजार जनाभन्दा बढी अग्नी नियन्त्रकहरू खटाइएको अधिकारीहरूले जनाएका छन्।

वर्षा नहुन्जेल कतिपय स्थानमा आगलागी नियन्त्रण गर्न कठिन हुने अधिकारीहरूले चेतावनी दिएका छन्।

आगलागीका कारण दुषित बनेको हावाले रोगव्याधीको खतरा पनि बढेको चेतावनी दिइएको छ । bbc