रौतहटको फरहदवामा १२ वर्ष अगाडि भएको बम विष्फोटका प्रत्यक्षदर्शी गौरीशंकर चमारले आफूलाई मोहम्मद अफताव आलमका व्यक्तिले दबाब दिएर बयान फेर्न लगाएको बताएका छन् ।
आलमका व्यक्तिहरुले आफूलाई अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएको गौरीशंकरले बताएका छन् । त्यही कागज अदालतमा बुझाएको उनले बताएका छन् । चार दिन अगाडि आफू घरमै बसिरहेको बेला केही मानिसहरुले जीपमा राखेर आलमका सम्धी शिवहरको घरमा बन्धक बनाएर राखेको गौरीशंकर चमारले बताएका छन् ।
उनीहरुले अदालतमा गएर बम बिस्फोटमा नभइ स्टोभ पड्केर घाइते भएको वयान दिनू भनेर सिकाएको र सोमबार दिउँसो मोटरसाइकलमा राखेर आफूलाई जिल्ला अदालत नजिक ल्याएर छाडिएको गौरीशंकरको भनाइ छ । गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा आफूलाई बम विष्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ । साथै आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि उल्लेख छ ।
भारत सीतामढीका गौरीशंकर चमारलाई सोही घटनाको साक्षी भनेर प्रहरीले प्रस्तुत गरेको छ । तर, सोमबार उनको हस्ताक्षरयुक्त कागजमा बम विष्फोटको घटनाबारे थाहा नभएको उल्लेख गरिएपछि तरंग सिर्जना भएको थियो ।