logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई बोलाए : मन्त्री भट्टराई


अंकुरण खबर
832
Shares

सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउने भएको छ ।

मंगलबार ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० पूर्वतयारी भेला’मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिए ।

पूर्वतयारी भेला’ मा मन्त्री भट्टराईले भने, ‘भ्रमण वर्षको व्यापक तयारी भइरहेको छ, भ्रमण वर्ष सचिवालयले प्रदेश सरकार र विदेशस्थित सबै कूटनीतिक नियोगलाई पत्राचार गरिसकेको छ । हामीले ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा पठाएका छौँ, विदेशका चर्चित कलाकारको पनि सहभागिता रहनेछ । सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथ निजी क्षेत्रको सक्रियतामा भ्रमण वर्षलाई भव्यरूपमा शुभारम्भ गरिनुपर्छ ।’

सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । विदेशस्थित सबै कूटनीतिक नियोगमा जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम तय गरिएको पर्यटनमन्त्री भट्टराईले जानकारी दिए ।

भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य छ । सङ्घीय सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले पनि भ्रमण वर्षलाई सफल बनाउन गन्तव्य प्रवद्र्धन, पूर्वाधार विकास र सेवा स्तरीकरणलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।