काठमाडौं – पूर्वमन्त्री तथा व्यवसायी रुपज्योती र उनको छोरी सुरुची थुनामुक्त भएका छन् । ठगीको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध ठगी मुद्दा नचल्ने भएपछि रिहा भएका हुन् ।
सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वअर्थ राज्यमन्त्री रहेको रुपज्योती र उनकी छोरीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । ८ दिनदेखि थुनामा रहेका व्यापारी ज्योति र उनकी छोरी सुरुची विरुद्ध लेनदेन विवादमा ठगी मुद्दा नचल्ने निर्णय भएकाले दुवै पक्षबीच सहमति भएपछि प्रहरीले उनीहरुलाई छोडेको हो ।
प्रहरी कार्यालयले दुवै पक्षका बीचमा विवाद समाधान भएकाले मिलापत्र गर्ने कार्य हुने प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले यस्तो निर्णय गरेको थियो ।
महानगरीय प्रहरी परिसरको टोलीले ज्योति र उनका छोरी सुरुचीलाई गत कार्तिक २१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।