काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई बर्खास्त गरेको छ ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्ने टिममा रहेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले बर्खास्त गरेको हो ।
शनिवार भुटान जाने टिमका चार खेलाडी शुक्रबार राति ठमेलस्थित एक डिस्कोमा गएको भेटिएपछि उनीहरुमाथि अनुशासनको कारबाही गरिएको हो । बारबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुदाँ खेलाडीलाई सामान्य चोट समेत लागेको बताइएको छ । कारबाहीमा परेका चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्न नपाउने भएका छन् ।
एन्फाले शनिवार नै उनीहरुको ठाँउमा चार नयाँ खेलाडीलाई भुटान पठाएको छ । नेपालले विश्वकप छनोटको पहिलो होम गेममा मंसिर तीन गते कुवेतविरुद्ध भुटानमा खेल्दैछ ।
काठमाडौंका दशरथ रंगशाला तयार नभएपछि खेल भुटानमा आयोजना गरिएको हो ।