काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार पुनः घटेको छ । आज नेप्से ४.५९ अंकले घटेर ११३१.३६ बिन्दुमा झरेको छ ।
कुल १६३ वटा कम्पनीको ११ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । परिसूचक घटे पनि कारोबार रकम र संख्या आज बढेको छ । आज कारोबारमा आएका समूहमध्ये अन्य र व्यापार समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।
आज शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ४३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज करिब १० प्रतिशतले बढेको छ ।
पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ । कारोबार रकम उच्च भए पनि शिवम् सिमेन्टका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।