काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद हेरफेरको प्रस्ताव राख्ने भएका छन् ।
बुधबार बस्ने सचिवालय बैठकमा ओलीले औपचारिक रुपमा मन्त्रिपरिषद हेरफेरको प्रस्ताव राख्ने एक नेताले जानकारी दिए । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद हेरफेरबारे सहमति भइसकेको छ ।
सोही सहमतिलाई सचिवालयका तर्फबाट औपचारिकता दिन लागिएको हो । स्रोतका अनुसार हटाइने मन्त्रीहरुको सूचीसमेत तयार भइसकेको छ ।
उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विकलाई मन्त्रिपरिषदबाट बिदाई गर्ने तयारी छ ।
यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटाइने सूचीमा परेका छन् ।
हटाइएका स्थानमा नयाँ मन्त्री पनि आजै नियुक्त गर्ने तयारी छ । नयाँ मन्त्रीहरुको समेत टुंगो लागे पनि नाम सार्वजनिक गरिएको छैन ।